किन भइरहेको छ विमानस्थलमा अनमोल केसीको स्वागत ?



नेवारी बाजागाजा सहित सजिएका केही यूवायूवती । साथमा हातमा फूलको माला र गुच्छा । नायक अनमोल केसीलाई स्वागत गर्न काठमाडौंको अन्तरराष्ट्रिय विमानस्थलमा देखिएको दृश्य हो यो । आखिर, अनमोल केसीको भव्य स्वागत किन भइरहेको छ त ?

यसको पछाडि कारण छ । त्यो कारण हो फिल्म ‘जेरीः अन टप’को छायांकन । फिल्मको शिर्ष भूमिकामा काम गरिरहेका नायक अनमोल केसी विदेशबाट फर्किदा उनलाई स्वागत गर्नका लागि उनका पिता अर्थात भुवन केसीले तयार पारेको माहोल हो यो । फिल्म भित्र अनमोल भूवनकै छोराको भूमिकामा छन् ।

विमानस्थलमा नायिका जसिता गुरुङ भने देखिइनन् । उनलाई स्वागत गर्नका लागि नायिका आँचल शर्मा अगाडि देखिइन् । यसको अर्थ, यो समयसम्म फिल्ममा अनमोल र जसिताको भेट हुँदैन भन्ने नै हो ।

छायांकन भइरहेको फिल्म ‘जेरीः अन टप’का दृश्यहरु सामाजिक संजालमा भाइरल छन् । फिल्ममा कुन दृश्य कसरी खिचिएको छ भन्ने जानकारी दर्शकलाई छ । तर, पनि सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको फिल्मको टिमले यसमा खासै वास्ता गरेको छैन । निर्माता सरोज न्यौपाने पनि मौन छन् ।

फिल्मको छायांकन सुरु भएको लामै समय भइसकेको छ । तर, अझै पनि थुप्रै दृश्यहरु खिच्न बाँकी नै देखिएको छ । फिल्मको कथावस्तु नै अप्ठ्यारो भएका कारण यस्तो अवस्था आएको निर्माणपक्षको भनाई छ ।