पोखरा – कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको तर्फबाट बहस चलिरहेको बेला निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अदालतमा रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिन लागेको अवस्थामा संभावित हुलदंगाको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा कडाई गरिएको हो।
सोमबार र मंगलबार अदालत बाहिरका गतिविधिहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिने क्रममा कुनै अप्रिय घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै कडा सुरक्षा व्यवस्था लागू गरिएको छ।
पोखराको शहीदचोक, जिल्ला अदालत, राष्ट्र बैंक चोकदेखि कोमागाने पार्क, रत्नचोक, जिल्ला मालपोत कार्यालय, मासबार हुँदै मुख्यमन्त्री कार्यालयतर्फ जाने प्रमुख सडकमाथि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। यी क्षेत्रहरूमा अत्यावश्यक काम बाहेक कुनै पनि सवारी साधनलाई जान रोक लगाइएको छ। यसका अतिरिक्त, अदालती वा प्रशासनिक कामको सिलसिलामा जानु पर्ने व्यक्तिहरूलाई पनि कागजात बिना प्रवेश गर्न दिइएको छैन।
सुरक्षा व्यवस्था कडा पारिएको कारण सोमबार र मंगलबार अदालत बाहिर अनपेक्षित गतिविधिहरू देखिएपछि सुरक्षा उच्च सतर्कतामा राखिएको हो। प्रहरी प्रशासनले अतिरिक्त सुरक्षाका लागि सम्पूर्ण तयारी गरेको जनाएको छ। कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले भने, “हिजो र अस्ती केही अनपेक्षित गतिविधि गर्न खोजिएको देखियो, तर प्रहरीले स्थिति सामान्य बनाइदियो। अब बयान सकिएर फैसला नआउँदासम्म स्थिति सामान्य राख्नका लागि सुरक्षा कडा पारिएको हो।”
सम्भावित भीड र तनावलाई नियन्त्रणमा राख्नको लागि पुलिस प्रशासनले सजगता अपनाएको छ र अदालत क्षेत्रको चारैतिर कडा निगरानी राखिरहेको छ।
प्रतिक्रिया