नेपालको पासपोर्ट झनै कमजोर बन्दै , सिङ्गापुर शीर्ष स्थानमा


काठमाडौँ – हेन्ले पासपोर्ट इन्डेक्सले विश्वका सबैभन्दा शक्तिशाली पासपोर्ट भएका देशहरूको सूची सार्वजनिक गरेको छ। यस सूचीमा हरेक देशको वरीयता यात्रासम्बन्धी भिसा फ्री पहुँचको आधारमा निर्धारण गरिएको छ, जसका लागि अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) बाट प्राप्त तथ्यांक प्रयोग गरिएको छ।

यसपटक नेपालको पासपोर्टको वरीयतामा गिरावट आएको छ। नेपाल १०१ औं स्थानमा छ, जुन सन् २०२४ को जनवरीमा ९८ औं स्थानमा रहेको थियो। नेपालको राहदानी भएका व्यक्तिहरूलाई ३९ देशमा भिसा बिना यात्रा गर्न अनुमति छ।

सार्वजनिक सूची अनुसार, संसारको सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ, जुन १०६ औं स्थानमा रहेको छ। यसपछि सिरिया, इराक, पाकिस्तान, यमन र सोमालिया छन्, जसका पासपोर्टको वरीयता क्रमशः १०५, १०४, १०३, १०३ र १०२ स्थानमा छ। यी देशहरूमा हालको युद्ध, आतंकवाद, लागुऔषध तस्करी र गरिबीका कारण उनीहरूको पासपोर्टको वरीयता कमजोर भएको छ।

नेपालका छिमेकी मुलुक भारतको पासपोर्टको वरीयता पनि ५ अंकले घटेर ८५ औं स्थानमा पुगेको छ, जबकि २०२३ मा भारत ८० औं स्थानमा रहेको थियो। भारतीय नागरिकहरूलाई ५७ देशमा भिसा बिना प्रवेश गर्न अनुमति छ।

शीर्ष स्थानमा सिङ्गापुर, पछि जापान, फ्रान्स, जर्मनी र अन्य यूरोपीय देशहरू

सिङ्गापुर यस सूचीको शीर्ष स्थानमा रहेको छ, जहाँको पासपोर्टले भिसा बिना १९५ देशमा यात्रा गर्न अनुमति दिन्छ। दोस्रो स्थानमा जापान रहेको छ, जसका नागरिकहरूलाई १९३ देशमा भिसा बिना यात्रा गर्न सकिन्छ। तेस्रो स्थानमा फ्रान्स, जर्मनी, इटाली र स्पेन रहेका छन्, जसका नागरिकहरूलाई भिसा नलिई १९२ देशको यात्रा गर्न सकिन्छ।

चौथो स्थानमा अस्ट्रिया, डेनमार्क, आयरल्यान्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन र लक्जमबर्ग रहेका छन्, जसका नागरिकहरूलाई १९१ देशमा भिसा फ्री प्रवेश मिल्छ। पाँचौं स्थानमा बेल्जियम, पोर्चुगल, बेलायत, स्विट्जरल्याण्ड र न्युजिल्याण्ड रहेका छन्, जसको राहदानीमा १९० देशमा भिसा फ्री प्रवेश मिल्छ। ९ नम्बरमा अमेरिकाको राहदानी रहेको छ, जसको पासपोर्टले १८६ देशमा भिसा बिना यात्रा गर्न अनुमति दिन्छ।

यो सूची विश्वभरिका नागरिकहरूको यात्रा सुविधा र पासपोर्टको शक्ति पर्नेको एक महत्त्वपूर्ण मापदण्डको रूपमा लिइन्छ।