फिल्म ‘महाभोज’को छायांकन पोखरामा हुने भएको छ । यसका लागि बुधबार फिल्मको टिम पोखरा प्रवेश गर्नेछ ।
छायांकन सुरु गर्नु अगाडि माघे संक्रान्तीको अवसर पारेर आज पूजा गरिएको छ । पूजामा फिल्मका अधिकंश कलाकारहरु सहभागी थिए ।
विशेष पूजामा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत्त, बसुन्धरा भुषाल, मोहन निरौला, वुद्दि तामाङ, कमलमणि नेपाल, पुस्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, विरेन्द्र सिंह कुशवाह लगायतको उपस्थिती थियो ।
यो फिल्मको कथाले समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्ध बोल्ने बताइएको छ । देशमा भइरहेको प्रणालीविहिन कामहरुको विरुद्ध जब नागरिकको सहनशीलताको बाँध टुट्छ, समाजले कस्तो रुप लिन्छ भन्ने कथा यो फिल्ममा भन्ने निर्माता हिमाल कडरियाले जानकारी दिए ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा हिमाल कडरियाको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माताहरु किरण नेपाली र सुदिप ढकाल हुन् ।
विकास सुवेदीको लेखन रहने फिल्ममा राजेश श्रेष्ठको छायांकन रहनेछ । यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन् । फिल्मलाई ४५ दिन लगाएर खिचिनेछ ।
प्रतिक्रिया