काठमाडौं, २ माघ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री पदम गिरीले दुनियाँका कुनै पनि शक्तिले वर्तमान सरकार ढाल्न नसक्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ को निर्वाचनसम्म नै कायम रहने बताएका हुन् । उनले आन्तरिक वा बाह्य आग्रह वा पूर्वाग्रहले सरकारलाई कुनै असर नगर्ने बताए ।
‘दुनियाँका कुनै शक्ति लागेपनि ०८४ सम्म नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धन भत्किँदैन । कसैको आरोप, भ्रमले केही असर गर्दैैन । जनताको सार्वभौम संसद्बाट बनेको सरकार हो, कसैको आग्रहले केही अर्थ राख्दैन,’– उनले भने ।
साथै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाहेर वर्तमान सरकार नढल्ने उनको दाबी छ । प्रचण्डले सत्ता प्राप्ति र आफ्नो स्वार्थ पूरा गर्न विभिन्न अभिव्यक्ति दिने गरेको उनले बताए । प्रचण्डको बोलीले वर्तमान सरकारको समीकरण परिवर्तन हुने कुरा सोच्नपनि नसकिने उनले बताए ।
‘देश र जनतालाई केन्द्रविन्दुमा राखेर भन्ने भन्दापनि उहाँले सत्तालाई केन्द्रविन्दुमा राखेर बोल्नुहुन्छ । के बोल्दा सत्ता प्राप्ति हुन्छ, के गर्दाखेरी दलहरुको बीचमा विभाजन हुने र वितण्ड मच्चिन्छ र त्यसमा आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भन्ने दाउ र त्यो कोणबाट मात्रै उहाँले अभिव्यक्ति दिनुहुन्छ । प्रचण्डले के बोल्नुभयो भन्ने कुराले धेरै म्याटर गर्दैन,’– उनले भने ।
वर्तमान सरकारले अब गियर बदलेर कुद्न सुरुगर्या भन्ने बुझेर माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले अध्यादेशको विरोध गरेको उनको दाबी छ । नेता गिरीले अबको तीन वर्षको अवधिमा सरकारले देशमा आर्थिक कायापलट गर्नेगरी, अर्थतन्त्रमा नयाँ उभार ल्याउनेगरी काम गर्नका लागि आधार तयार गर्दैछ भन्ने कुरा बुझेर उनीहरुले अध्यादेशको विरोध गरेको बताए ।
‘देश र जनताको जुन चाहना थियो, त्यो चाहनालाई छिटोभन्दा छिटो सम्बोधन गरेर मुलुकलाई तीब्र गतिमा विकासको बाटोमा लाने, आर्थिक विकासको बाटोमा, सुशासनको बाटोमा, सामाजिक न्यायको बाटोमा देशलाई कुदाउनका निम्ति, चार गियरमा हालेर गाडी कुदाउनका निम्ति यो ऐन आएको हो । यसलाई त स्वागत गर्नुपर्थ्यो,’– उनले भने ।
प्रतिक्रिया