काठमाडौं, ३ माघ । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुन व्यवसायीमाथि आक्रमण गर्नेलाई सरकारले तत्काल कारबाही गरिनुपर्ने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विषय आफूले गृहमन्त्री रमेश लेखकलाई जानकारी गराइसकेको बताए । गृहमन्त्री लेखकलाई सो विषय ध्यानाकार्षण गराउँदै दोषीमाथि हदैसम्मको कानुनी कारबाहीको काम गरेको पनि उनले सुनाए ।
‘मैले हिजो नै यो कुरा गृहमन्त्रीलाई भनिसकेको छु । मैले यो कुरा सिरियसली लिएको छु । दोषीमाथि कारबाही हुन्छ भन्नुभएको छ । दोषीमाथि उचित कानुनी कारबाही हुनुपर्छ । नेपाल बार एशोसिएशनले यसलाई गम्भीर रुपमा लिएको छ,’– बार अध्यक्ष घिमिरेले भने ।
पक्ष वा विपक्षमा बहस गर्दाखेरी कसैलाई नराम्रो लाग्नु या कसैलाई आपत्ति हुनुपर्ने विषय नरहेको उनले बताए । अध्यक्ष घिमिरेले उक्त घटनालाई नेपाल बार एशोसिएशनले गम्भीर रुपमा लिएको पनि बताए । पक्ष र विपक्षमा बहस गर्ने कानुन व्यवसायीमाथि आक्रमण गर्न थाल्ने हो भने अदालतको स्वतन्त्रता नै बाँकी नरहने उनको भनाइ छ । अध्यक्ष घिमिरेले कानुन व्यवसायीमाथि आक्रमण गर्ने दोषीलाई पत्ता लगाएर सरकारले तत्काल कारबाही गर्नुपर्ने बताए । ‘म सरकारसँग के आग्रह गर्दछु भने– यसरी कानुन व्यवसायीमाथि आक्रमण गर्ने दोषी पत्ता लगाएर तत्काल कारबाही गरियोस् ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणलाई सरकारले गम्भीरताको साथ नलिए बार एशोसिएशनले उचित कदम चाल्ने उनको चेतावनी छ ।
प्रतिक्रिया