के ‘कार्साङ’को ग्रस डेढ करोड नजिक पुगेको हो ?



चलचित्र विकास बोर्डले बक्स अफिस आँकडा सार्वजनिक नगर्दा निर्माताहरुले सही कलेक्शन सार्वजनिक गरेका छैनन् । दर्शकलाई झुटो बोलेर निर्माताहरुले व्यापार बढाइरहेका हुन्छन् ।

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘कार्साङ्’ले बक्स अफिसमा अपेक्षित दर्शक पाएको छैन । तर, यसको निर्माणपक्षले भने व्यापार डेढ करोड नजिक पुगेको दाबी गरेको छ ।

फिल्म रिलिजको ६ दिनमा यसले बक्स अफिसमा १ करोड ४५ लाखको ग्रस कलेक्शन गरेको दाबी निर्माणपक्षको हो ।

सुरुवातका दिनमा केही कम दर्शक भएपनि विस्तारै दर्शक बढ्दै गएको वितरण कम्पनी आरआर फिल्मस्ले उल्लेख गरेको छ ।

माघ १ गतेबाट दर्शकको चाप हलमा बढेको पनि वितरकको भनाई छ । बुधबार पनि फिल्मले राम्रो कलेक्शन गरेको दाबी वितरण संस्थाको छ । यम शेर्पाको निर्देशनमा तयार भएको यो फिल्मले ओपनिङ भने फितलो गरेको थियो ।

फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, श्रृष्टी गौतम लगायतका कलाकारहरुको अभिनय छ । यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा बनेको यो फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ । गोविन्द बोहरा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् ।

फिल्मले लगानी मात्र उठाउन अझै केही साता राम्रो कलेक्शन गर्न आवश्यक छ । त्यसका लागि दर्शकको चापमा उच्च वृद्धि हुनुपर्ने देखिन्छ ।