गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले बीचको सत्तासहकार्यमा कुनै समस्या नरहेको बताएका छन्। बिहीबार, पार्टी सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठमा पार्टीका मन्त्रीहरूसँग गरेको छलफलको निष्कर्ष सुनाउँदै लेखकले यो जानकारी दिएका हुन्।
लेखकका अनुसार, कांग्रेस र एमालेका बीचमा भएको सातबुँदे सहमतिअनुसार नै सरकारको समीकरणलाई अघि बढाउने सहमति छ। उनले भने, “हाम्रा बीचमा कुनै समस्या छैन। दुई दलको सम्मिलित सरकारमा कुनै बाधा, व्यबधान, या अफ्ठ्यारो छैन। हामीले आफ्नो मन्त्रालयमा थप राम्रो काम कसरी गर्ने भन्ने कुरामा छलफल गरेका छौँ।”
बैठकमा सभापति देउवाले गरेको ब्रिफिङबारे पनि लेखकले भने, “सभापतिजीको भनाइ यो हो कि, नेपाली कांग्रेस र एमालेको सहमतिअनुसार मुलुकमा सुशासन कायम गर्न र आर्थिक समृद्धि ल्याउन काम गर्नुपर्ने हो। यसै विषयमा केन्द्रित रहनुहोस् भन्ने कुरा भनिएको छ, र हाम्रो निष्कर्ष यो हो कि दुवै दलका बीचमा कुनै समस्या छैन।”
प्रतिक्रिया