पुसको चिसोमा नेपाली फिल्मको चिसै व्यापार



शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘कार्साङ्’ले बक्स अफिसमा केही सुखद सन्देश दिने अपेक्षा नेपाली फिल्मीकर्मीहरुलाई थियो । दयाहाङ राई, जितु नेपाल जस्ता कलाकारहरु भएको यो फिल्मले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा सबैमा थियो । तर, फिल्मको व्यापार चिसियो ।

निर्माणपक्षले ६ दिनमा करिब डेढ करोड नजिकको ग्रस कलेक्शन गरेको आँकडा दिएपनि त्यो पत्याउने आधार छैन । किनकी, हलमा दर्शक नभई यत्रो व्यापार संभव नै छैन ।

यम शेर्पाको निर्देशनमा तयार भएको यो फिल्मले पनि नकमाएपछि पौष महिनाको चिसो नेपाली फिल्मका लागि फापेन । पहिले पहिले माघे संक्रान्तीमा नेपाली फिल्मको व्यापार गज्जब हुने गर्दथ्यो । तर, अहिले माघे संक्रान्तीको बिदामा फिल्मले व्यापार गर्न छाडेका छन् ।

यो महिना रिलिजमा आएका कुनै पनि फिल्मले दर्शक तान्न सकेनन् । यो महिना ‘बमबहादुर, देववाणी र कार्साङ्’ हलमा लागेका थिए । तीनै फिल्मको व्यापारले फेरि बजारमा निराशा छाइदिएको छ ।

कथावस्तु, प्रस्तुती र मार्केटिङले साथ दिएन भने नेपाली फिल्मको व्यापार हुँदैन भन्ने सन्देश पनि पौष महिनाले दिएको छ । यसैले, यो कुरालाई नेपाली फिल्मका निर्माताहरुले गम्भिर रुपमा मनन गर्नुपर्ने देखिन्छ ।