नेपाली खुशीको खबर:”यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने”


काठमाण्डौ – यूएई सरकारले दुई महिनाको लागि लागू गरेको आममाफी कार्यक्रम अन्तर्गत त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन्। यो कार्यक्रम भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्कने अवसर दिने उद्देश्यले ल्याइएको हो। भिसा पाएर पनि यूएईका अध्यागमन नियम उल्लङ्घन गर्ने व्यक्तिहरूले पनि यो आममाफीको फाइदा पाउनेछन्।

आममाफी कार्यक्रम सेप्टेम्बर १ अर्थात् १६ गतेदेखि सुरु भई अक्टोबर ३० अर्थात् कात्तिक १४ गतेसम्म लागू रहनेछ। यो नियम पर्यटन, भिसा सकिएका र कम्पनीबाट भागेका आप्रवासी कामदारहरूका लागि हुनेछ, तर विना भिसा यूएई प्रवेश गरेका व्यक्तिहरूलाई यो सुविधा मिल्ने छैन।

नेपाली दूतावास अबुधाबीले गैरकानूनी रूपमा बसोबास गरिरहेका नेपालीलाई आममाफीको फाइदा लिनका लागि प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ। प्रक्रिया पूरा गरी नेपाल फर्केका व्यक्तिहरूलाई भविष्यमा यूएई फर्कनमा कुनै समस्या नहुने दूतावासले जनाएका छन्।