रिमा विश्वकर्माले गरे कुमारी ब्युटी पोखरा स्टोर्सको उद्घाटन


पोखरा- नायिका रिमा विश्वकर्माले कुमारी ब्युटीको पोखरा स्टोर्सको औपचारिक उद्घाटन गरेकी छन्। क्यानाडाबाट उत्पादन सुरु गरिएको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टहरूको प्रमुख स्टोर पोखरामा खोलेको हो। मेकअप आर्टिस्ट शोभा भट्टराईद्वारा स्थापित यस ब्राण्डले प्राकृतिक र हस्तनिर्मित सौन्दर्यसम्बन्धी प्रडक्टहरू उत्पादन गर्दछ।

शनिबार दिउँसो एक विशेष कार्यक्रमका बीच अभिनेत्री रिमा विश्वकर्माले स्टोरको उद्घाटन गर्दै कुमारी ब्युटीका प्रडक्टहरूको गुणस्तर र महत्त्व बारे आफ्नो धारणा व्यक्त गरिन्। उनले भनिन्, “म प्राकृतिक पदार्थ भएको प्रडक्ट प्रयोग गर्न रुचाउँछु, र कुमारी ब्युटीको प्रडक्टमा मैले त्यो पाएँ। जब नयाँ प्रडक्ट प्रयोग गर्दा एलर्जी वा छालामा समस्या हुने डर हुन्छ, तर यसमा त्यस्तो समस्या भएन। मेरो स्किनलाई यो उपयुक्त रहेछ।”

कार्यक्रममा रिमा विश्वकर्मा कुमारी ब्युटीका प्रडक्टमा सजिएर उपस्थित भएकी थिइन्। सन् २०२१ मा सुरु भएको कुमारी ब्युटीले ४० प्रकारका प्राकृतिक र हस्तनिर्मित सौन्दर्यप्रडक्टहरू उत्पादन गर्ने जानकारी सञ्चालक शोभा भट्टराईले दिइन्। उनले थपिन्, “हामीसँग बाथ बम्ब्स, कस्मेटिक्स, साबुन, मैन बत्ती लगायतका सौन्दर्यसम्बन्धी सामाग्रीहरू छन्, जुन प्राकृतिक, हस्तनिर्मित र छालामैत्री पनि छन्।”

कार्यक्रममा रिमा विश्वकर्माले व्यक्त गरेको भनाइमा यो पनि थियो कि “मान्छेको सौन्दर्य कहिल्यै पनि उसको नियन्त्रणमा नहुने कुरा हो।” कुमारी ब्युटीले पोखरामा स्थित बाराही चोकमा नयाँ स्टोर खोलेर देशभर सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।