बाराको सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ- बाराको साबिक आदर्श गाविसका सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

साबिक आदर्श गाविस अब जीतपुरसिमरा उपमहानगरपालिका का सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचारको आरोप लागेको हो। उनले विभिन्न आर्थिक वर्षहरूमा गाविसको विनियोजित रकममा अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अन्सारीले ३८ लाख ३० हजार ५ सय रुपैयाँको भ्रष्टाचार गरेको पुष्टि भएको छ।

गुदरी बजार र मिना बजारका सटरहरू उपभोक्तालाई भाडामा दिनुका क्रममा अपनाइएको प्रक्रिया पारदर्शी नभएको पुष्टि भएको छ। सटरहरू भाडामा दिनुअघि लिएको धरौटी रकमका कागजातहरू लुकाएर बरबुझारथ नगरेको पाइयो।

२०६४\६५ आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित ३८ लाख ३० हजार रुपैयाँ धरौटी रकमलाई साबिक गाविसको धरौटी खातामा जम्मा नगरी हिनामिना गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिनामिना र दुरुपयोग गरेको भन्दै कैद र जरिवाना सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। आरोपित रकमको बिगोसहित सजाय माग गरिएको छ।