विदेश लैजाने प्रलोभनमा ठगी गर्ने तीनजना पक्राउ


काठमाडौँ- बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाग्लुङ घर भएका तिलकबहादुर कार्की, प्युठान घर भएका हरिबहादुर विष्ट र स्याङ्जा घर भएकी जमुना परियार रहेका छन् ।

उनीहरूले लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्क विहीन भएको पीडितहरूले जाहेरी दरखास्त दिएका थिए ।

प्रहरीका अनुसार ३४ वर्षीय कार्कीले यूके पठाइदिन्छु भन्दै एक जनासँग १ लाख रुपैयाँ ठगी गरेका भने ३६ वर्षीय विष्टले अमेरिका पठाइदिन्छु भन्दै दुई जनासँग २ लाख रुपैयाँ र परियारले अस्ट्रेलिया पठाइदिन्छु भन्दै ३ जनासँग २८ लाख रुपैयाँ ठगी गरेका छन् ।

तीनै जनालाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।