नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित भिजिबिलिटी मात्र ५० मिटर


काठमाडौँ- बाक्लो हुस्सुका कारण मंगलबार बिहानैदेखि नेपालगञ्ज विमानस्थलमा हवाई सेवा ठप्प भएको छ। शीतलहर र हुस्सुका कारण भिजिबिलिटी ५० मिटरमा झरेको छ, जुन उडानका लागि आवश्यक न्यूनतम सीमा भन्दा निकै कम हो

जहाज उडाउन कम्तीमा १,००० मिटरको भिजिबिलिटी आवश्यक पर्छ र जहाज अवतरण गर्न १,६०० मिटरको भिजिबिलिटी चाहिन्छ। नेपालगञ्ज विमानस्थलबाट काठमाडौँ, धनगढी, पोखरा, र पहाडी जिल्लाहरूमा दैनिक ५० भन्दा बढी उडान हुने गर्छ । भिजिबिलिटी घटेका कारण आज सबै उडानहरू बन्द छन्।

काठमाडौँ र पहाडी जिल्लामा जान लागेका यात्रुहरू विमानस्थलमै प्रतीक्षारत भएका छन् । यस क्षेत्रको जनजीवन मात्र नभई हवाई सेवा समेत गम्भीर रूपमा प्रभावित भएका छन् । नागरिक उड्डयन कार्यालय नेपालगञ्जका ट्राफिक कन्ट्रोलर रिङ्की मल्लिकका अनुसार भिजिबिलिटीमा सुधार नभएसम्म उडान पुनःसञ्चालन गर्न सकिने छैन। यात्रुहरूले मौसममा सुधारको प्रतीक्षा गरिरहेका छन्।