हलगोरु पाल्ने किसानलाई सम्मान, प्रोत्साहन रकम वितरण


काठमाडौँ- सन्धिखर्क नगरपालिका–१ वडाले हलगोरु पाल्ने किसानलाई सम्मान गर्दै प्रोत्साहन रकम वितरण गरेको छ। पछिल्लो समय गोरु पाल्ने किसानहरूको सङ्ख्या घट्दै गएको परिस्थितिलाई ध्यानमा राख्दै, वडाले किसानहरूलाई प्रोत्साहित गर्न यो कदम चालेको हो। युवाहरूको विदेश पलायन र मिनिटिलर तथा ट्याक्टर प्रयोगले खेतबारी जोत्न गोरुको प्रयोग घटेको छ। यसले जग्गा बाँझो हुने समस्या निम्त्याएकोले गोरु पाल्ने परम्परालाई जोगाउन १८ जना किसानलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले सम्मान गरिएको वडाअध्यक्ष माधव श्रेष्ठले जानकारी दिए।

कार्यवाहक नगरप्रमुख मिश्रा आचार्यले यो कार्यक्रम किसानहरूलाई खेतीपातीमा प्रोत्साहित गर्न प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले भने नयाँ प्रविधि भित्रिए पनि गोरु पाल्ने परम्परा अझै नहराएको देख्दा खुसी लागेको छ।

वडाले किसान सम्मान कार्यक्रमसँगै महिला स्वयंसेविकाहरूलाई पोसाक पनि वितरण गरेको छ।