काठमाडौंको- भोटेबहालस्थित पदमा कुमारी तुलाचनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमा तिर्थ बहादुर थापा मगर रामेछाप दोरम्बा गाउँपालिका३ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ९ ढुङ्गिनी बस्ने, सुवास मगर दोरम्बा गाउँपालिका ४ घर भई काठमाडौं गोठाटार बस्ने, सुनिता तामाङ सिन्धुली मरिण गाउँपालिका २ घर भई ललितपुर इमाडोल बस्ने, बलराम विश्वकर्मा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ९ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ५ मोती चोक बस्ने हुन् ।
चोरी पुस १६ गते भएको थियो । सुनका गरगहना र नगद गरी करिब १६ लाख ५५ हजार रूपैयाँ बराबरको रहेको थियो । स्वरूप परिवर्तन गरिएको १ तोला ७७ लाल सुन र स्कुटर १ थान रहेको थियो । नगद ३० हजार रूपैयाँ भने मोबाइल ४ थान थियो ।
घटनाको अनुसन्धान गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनीहरूलाई ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्तहरूलाई थप अनुसन्धान तथा कानूनी कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
प्रतिक्रिया