‘परान’ निर्माणको घोषणा, नीर शाहदेखि केकीसम्म फिल्ममा



फिल्म ‘परान’ निर्माणको घोषणा गरिएको छ । देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समुहका शेखर गोल्छाले यो फिल्मको निर्माण गर्दैछ । यही फिल्मबाट गोल्छा समुह फिल्म निर्माणमा पनि प्रवेश गरेको छ ।

वुधबार आयोजित कार्यक्रममा शेखर गोल्छा तथा ‘प्रिज्मा एड्भटाजिङ’ प्रमुखको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘परान’को औपचारिक घोषणा गरिएको छ । यो फिल्मलाई दीपक प्रसाद आचार्य ‘काकु’ले निर्देशन गर्दैछन् । ‘सक्कीगोनी’ नामक सिरियलमा काम गरेपछि दीपक चर्चामा छन् ।

यो फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रविण खतिवडा, वुद्दि तामाङ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चनद, सुभाष गजुरेल, यमन श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहनेछ । यस्तै फिल्ममा आर्यदीप आचार्यले बाल कलाकारको रुपमा काम गर्नेछन् । फागुनको पहिलो साताबाट फिल्मको छायांकन हुने बताइएको छ ।

कार्यक्रममा बोल्दै निर्माता शेखर गोल्छाले भने–‘उद्योग बाणिज्य महासंघको अध्यक्षका हैसियतमा जिल्ला जिल्लामा हुने महोत्सवहरुमा प्रस्तुत गरिने सांकृतिक कार्यक्रममा नेपालीपन नदेख्दा त्यस्ता कार्यक्रममा जानै नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । हामीले फिल्म निर्माण गर्नुको पछाडि नेपालीपन र संकृतिको समृद्धिका लागि हो ।’

यस्तै, निर्माता रञ्जित अधिकारीले सन् २०१९ मै फिल्ममा आउने योजनासहित कम्पनी खडा गरेपनि कोभिडका कारण काम सुरु गर्न नसकेको बताए । उनले, अब निरन्तर नेपाली फिल्म बनाउने योजना अनुसार अगाडि आएको तर्क गरे ।

फिल्म घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, नायक राजेश हमाल, कलाकार हरिवंश आचार्य, कृष्ण मल्ल, अशोक शर्मा, निर्देशक दीपाश्री निरौला, नायिका नीशा अधिकारी लगायतको उपस्थिती थियो । यो फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मित्र देव गुरुङको सम्पादन रहनेछ । फिल्मले बाबु र छोरीको कथा भन्नेछ । कार्यक्रममा फिल्म र निर्माण कम्पनीको लोगो समेत सार्वजनिक गरिएको थियो ।