कठमाडौँ- भारतका प्रख्यात हास्य कलाकारहरू कपिल शर्मा, राजपाल यादव, सुगंधा मिश्रा, र रेमो डिसुजालाई ज्यान मार्ने धम्कीपूर्ण इमेल प्राप्त भएको छ। इमेल पाकिस्तानबाट पठाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
इमेलमा सेलिब्रेटीहरूसँगै उनीहरूका परिवार र नजिकका व्यक्तिहरूलाई पनि लक्षित गरिएको छ। आठ घण्टाभित्र कुनै प्रतिक्रिया नआए गम्भीर कारबाही गर्ने चेतावनी दिइएको छ। इमेलमा उक्त कार्यलाई प्रचारको रूपमा नलिन आग्रह गरिएको छ।
मुम्बईको अम्बोली प्रहरीमा उजुरी दर्ता गरिएको छ। धम्की दिने व्यक्तिले विष्णु नाम प्रयोग गरेको बताइएको छ। आईपी ठेगाना पाकिस्तानको भएको पत्ता लागेको छ। प्रहरीले भारतीय दण्ड संहिता ३५१ (३) को धारा अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइरहेको छ। हालसम्म यी कलाकार वा तिनका परिवारका तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
इमेल पठाउनेको पहिचान गर्न प्राविधिक अनुसन्धान तीव्र बनाइएको छ। सुरक्षाको ख्याल राख्दै सेलिब्रेटीहरूको सुरक्षा बढाउने सम्भावनाबारे पनि विचार भइरहेको छ।
प्रतिक्रिया