काठमाडौंको भंगाल चोकमा चितुवाको सफल उद्धार


काठमाडौं- काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित भंगाल चोकबाट बिहीबार बिहान एक चितुवा उद्धार गरिएको छ। डिभिजन वन कार्यालय काठमाडौंबाट शंकर थापा नेतृत्वको टोलीले डार्ट प्रयोग गरी चितुवालाई नियन्त्रणमा लिएको हो।

चितुवा बिहान करिब साढे ८ बजेतिर देखिएको सूचना प्राप्त भएपछि उद्धार टोली परिचालित भयो। बिहान ११ बजेतिर चितुवालाई डार्ट गरेर सुरक्षित रूपमा नियन्त्रणमा लिइयो। चितुवालाई थप उपचार र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ।

उद्धार कार्यमा सवडिभिजन वन कार्यालय गोकर्णका प्रमुख अशोक पराजुली, पशु चिकित्सक डा। अशुतोष भट्ट, वन अधिकृत अशोक पराजुली, रेञ्जर सतिश दाहाल, र विभिन्न सहयोगी कर्मचारीहरू संलग्न थिए। स्थानीय प्रहरी टोली पनि उद्धार कार्यमा खटिएको थियो। पशु चिकित्सक डा। अशुतोष भट्टका अनुसार चितुवा शारीरिक रूपमा स्वस्थ रहेको छ। चितुवा शिकारको खोजीमा जंगलबाट शहरी क्षेत्रमा प्रवेश गरेको हुनसक्ने अनुमान गरिएको छ। काठमाडौं र आसपासका क्षेत्रमा यस आर्थिक वर्षमा मात्रै मानव बस्तीमा प्रवेश गरेका ८ चितुवाको उद्धार भइसकेको छ।

उद्धार कार्यका क्रममा ठूलो संख्यामा स्थानीय बासिन्दा उपस्थित भएका कारण कार्य चुनौतीपूर्ण भएको थियो। चितुवाको बढ्दो आवतजावतलाई मध्यनजर गर्दै वन विभागले निगरानी बढाएको छ। चितुवालाई नियन्त्रण गर्न विभिन्न स्थानमा ट्र्याप राखिएको छ।