रुपन्देही जिल्ला अदालतमा थुनछेक बहसका लागि उपस्थित भए रवि लामिछाने


काठमाडौ- सुप्रिम सहकारी घोटालाको आरोपमा प्रतिवादी बनेका पूर्वगृहमन्त्री तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने थुनछेक बहसका लागि रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन्। बुधबार लामिछानेसँग बयान लिई उनलाई परिवारको जिम्मा लगाइएको थियो। न्यायाधीश प्रह्लादकुमार योगीले बयान लिएका थिए। अदालतमा आज थुनछेक बहस हुने जानकारी जिल्ला अदालतका वैतनिक वकिल कृष्णप्रसाद ढकालले दिएका छन्।

थुनछेक बहसपछि अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने आदेश गर्नेछ। रवि लामिछानेविरुद्ध बुटवलस्थित सुप्रिम सहकारीको बचत ठगी गरेको आरोपमा अभियोग दर्ता गरिएको छ। अभियोगअनुसार लामिछानेसहित २२ जनामाथि १,८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको आरोप छ।

अभियोगपत्रमा सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडियामा लगानी गरिएको र त्यसमा २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण दिइएको उल्लेख छ। गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु राई ९जीबी० पनि प्रतिवादी सूचीमा छन्।

लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। ८४ दिन हिरासतमा बसेपछि जिल्ला अदालत कास्कीले पुस २५ गते उनलाई धरौटीमा रिहा गरेको थियो। काठमाडौंबाट पुनः पक्राउ परेका लामिछाने, तीन दिन हिरासतमा बसेपछि ६० लाख धरौटी बुझाएर रिहा भएका थिए। थुनछेक बहसपछि अदालतको आदेशले लामिछानेको आगामी कानुनी प्रक्रिया तय हुनेछ।