काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस सुरु भएको छ। आज पाँच नम्बर न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गर्न थालेका छन्।
जिल्ला अदालत रुपन्देहीका रजिस्टार यज्ञमूर्ति ज्ञवालीका अनुसार रवि लामिछाने पक्षका ८ जना कानुन व्यवसायीले बहस गर्ने तयारी गरेका छन्। बहसपछि सरकारी वकिलहरूको प्रश्न जवाफ हुने जानकारी पनि उनले दिएका छन्। बिहीबार वादीका तर्फबाट ८ जना सरकारी वकिलले बहस गरेका थिए भने जाहेरवालाको तर्फबाट अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए।
गोर्खा मिडिया नेटवर्कमार्फत सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ। पूर्व गृहमन्त्री समेत रहेका लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, गितेन्द्रबाबु (जीवी) राई, कुमार रम्तेल र लक्ष्मी पौडेलको समूहले सहकारी ऐन विपरीत सुप्रिम सहकारीबाट १० करोड ९९ लाख ३६ हजार रुपैयाँ अपचलन गरेको अभियोग लगाइएको छ। सामूहिक रूपमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँको बिगो दाबी गरिएको छ।
लामिछानेको पक्षबाट सुशील पन्त, नारायणदत्त कँडेल, सुनिता राउत, सुरेन्द्र थापा, सञ्जय गोलेलगायतका कानुन व्यवसायीहरूले बहस गर्नेछन्।
गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक गितेन्द्रबाबु (जीवी) राईसहितको संलग्नता रहेको छ ।
थुनछेक बहसका क्रममा प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले आफ्नो पक्ष राख्नेछन्। त्यसपछि सरकारी वकिलहरूको प्रश्न जवाफ हुनेछ। अदालतले थुनछेकसम्बन्धी निर्णय लिनुअघि दुवै पक्षका तर्क सुन्नेछ।
प्रतिक्रिया