कङ्गोमा विद्रोहीद्वारा १३ विदेशी शान्ति सैनिकको हत्या


काठमाडौँ- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)मा शान्ति स्थापनाका लागि खटिएका १३ जना शान्ति सैनिक विद्रोही एम२३ समूहसँगको भिडन्तमा मारिएका छन्। मृत्यु भएका सैनिकहरू दक्षिण अफ्रिका ९ जना, मलावी ३ जना, उरुग्वे १ जनाका छन् ।

सैनिकहरू कङ्गोको पूर्वी क्षेत्रमा अवस्थित गोमा सहरतर्फ विद्रोहीहरूको प्रवेश रोक्ने प्रयास गर्दै थिए। एम२३ विद्रोहीहरूको समर्थन गरेको आरोपमा कङ्गोले छिमेकी रुवान्डासँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको छ।
पछिल्लो भिडन्तमा राष्ट्रसङ्घीय शान्ति मिसनका सदस्यहरूको ठूलो क्षति भएको छ।

राष्ट्रसङ्घले अत्यावश्यकबाहेक सबै कर्मचारीलाई गोमाबाट फिर्ता गर्ने निर्णय गरेको छ। आइतबार राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा यो घटनाबारे छलफल हुने भएको छ।

एम२३ समूह कङ्गोको अशान्त पूर्वी क्षेत्रमा सक्रिय रहेको छ।विद्रोहीहरूले बारम्बार सहरहरू कब्जा गर्ने प्रयास गर्दै आएको र यसले क्षेत्रीय स्थिरतामा गम्भीर प्रभाव पारेको छ।