आजको मौसम पूर्वानुमान तराईमा हुस्सु र कुहिरोको प्रभाब


काठमाडौँ- हाल देशको पश्चिमी भू(भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम मुख्यतया सफा छ । साथै तराइका धेरै भू भागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम मुख्यतया सफा रहनेछ भने राति कोशी प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम मुख्यतया सफा हुने छ ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसका साथै तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।