सांसद विनिता कठायतले कृषि समितिका सदस्यहरूको होटल सीसीटीभी फुटेज र खर्च विवरण मागेर उजुरी दियिन्


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले २९ पुसमा कृषि समितिका सदस्यहरूले पोखरास्थित होटल ओपन हाउसमा बसेको समयको सीसीटीभी फुटेज झिकाउन र सो दिनको खर्च विवरणसहितको बिल माग्दै उजुरी दिएकी छन्।

प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्य भएकी सांसद कठायतले राति ८ देखि १० बजेसम्मको फुटेज मागेकी हुन्। उनले सोही दिनको खर्चको विवरणसहित बिल भरपाइ पनि माग गरेकी छन्।

कृषि समितिले २४ पुसदेखि नेपालगञ्जमा अनुगमन सुरु गरेको थियो। ६ दिने अनुगमनको क्रममा समितिका सदस्यहरू २९ पुसमा पोखरामा उक्त होटलमा बसेका थिए।

सांसद कठायतले समितिको अनुगमनका दौरान सदस्यहरूको आचरण असंगत भएको र सांसदहरूले अर्काको व्यक्तिगत जीवनमा अनावश्यक टिप्पणी गरेको कुरा समिति बैठकमा उठाएकी थिइन्। यस विषयमा प्रमाण पेश गर्नका लागि उनले सीसीटीभी फुटेज झिकाएर छानबिन गर्न माग गरेकी छन्।