गगन थापाको चेतावनी सरकारमा बसेर गनगन नगर्नुहोस्


काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका नेताहरूलाई सरकारमा रहेर गुनासो नगर्न चेतावनी दिएका छन्।

आज (आइतबार) काठमाडौँमा आयोजित मीनकुमारी राणाको प्रतीमा अनावरण, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहमा बोल्दै उनले नेताहरूलाई जिम्मेवारीबोध गराउँदै भने, सरकारमा बसेपछि काम गर्न सकिनँ भन्न छुट छैन। थापाले कांग्रेस–एमाले गठबन्धन सरकारलाई अझै ३ वर्षको समय बाँकी रहेको भन्दै यो समय काम गर्नका लागि पर्याप्त रहेको बताएका छन्। उनले नेताहरूलाई निर्वाचनको तयारीभन्दा पनि हालको अवधिलाई देश र जनताको पक्षमा काम गर्ने अवसरको रूपमा लिन आग्रह गरे।

थापाले गठबन्धन सरकारले बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, र मनमोहन अधिकारी नेतृत्वको सरकारजस्तै जनताको पक्षमा काम गरेर आफ्नो औचित्य पुष्टि गर्नुपर्ने आवश्यकता औंल्याए।

२०८४ सालको निर्वाचनसम्म पुग्न पर्याप्त समय बाँकी रहेको बताउँदै उनले अहिले नै निर्वाचनको चर्चा गर्नु उचित नभएको धारणा राखे।

गगन थापाले कांग्रेस र एमालेबीचको गठबन्धनलाई सफल बनाउन जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए। उनले नेताहरूलाई आफ्नो भूमिका निर्वाह गर्दै जनताका आकांक्षालाई पूरा गर्न केन्द्रित हुन आग्रह गरे।

थापाको यो चेतावनीले कांग्रेसभित्र जिम्मेवारीबोधको सन्देश दिएको र सरकारलाई प्रभावकारी बनाउन नेताहरूलाई थप प्रेरित गर्ने अपेक्षा गरिएको छ।