रवि लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने


काठमाडौं – बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस समाप्त भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका आरोपितहरूको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूले जवाफी बहस गरेका छन्।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको यस बहसपछि इजलासले आदेश दिन तयार भएको स्रोतले जानकारी दिएको छ। आदेश आजै आउने सम्भावना छ, जसमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा सामान्य तारेखमा रिहा गर्ने निर्णय गर्न सक्ने बताइएको छ।

यसअघि पनि लामिछानेलाई अन्य सहकारी ठगी मुद्दामा धरौटीमा रिहा गरिएको थियो। पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गरेको थियो।