नायक अनमोल केसीको केन्द्रिय भूमिका रहेको फिल्म ‘जेरीः अन टप’को हाल धमाधम छायांकन भइरहेको छ । बारम्बार ब्रेक भएका कारण पनि फिल्मको छायांकन लम्बिएको हो । अझै फिल्म खिच्नका लागि एक महिना भन्दा बढी समय लाग्ने निर्माणपक्षले बताएको छ ।
यसैबिच, यो फिल्मका लागि काठमाडौंको एनएफडीसी स्टूडियोमा ४० लाखको सेट लगाइएको छ । फिल्मका निर्माता सरोज न्यौपानेले दिएको जानकारी अनुसार, सगरमाथा नै फिल्ममा देखाउनुपर्ने भएकाले सेट लगाइएको हो । उनले भने–‘अब, सगरमाथामा नै गएर फिल्म खिच्न त सकिदैन । यसैले, हामीले महंगो सेट लगाएर सगरमाथ नै बनाएका छौं ।’
यो फिल्मको बजेट पनि महंगो भइसकेको छ । निर्माताका अनुसार, फिल्म रिलिजसम्म बजेट ५ करोड भन्दा माथि पुग्नेछ । तर, यो लगानी सहजै फिर्ता हुनेमा निर्माता न्यौपाने विश्वस्त देखिएका छन् ।
नेपाली फिल्मको बजार फराकिलो बन्दै गएकाले पनि राम्रो फिल्म बनाएको खण्डमा लगानी फिर्ता हुने निर्माताको भनाई छ ।
सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको यो फिल्ममा अनमोलको साथमा केदार घिमिरे, भुवन केसी, जसिता गुरुङ, आँचल शर्मा, उषा खड्गी लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई आउँदो बर्षको जेठ महिनामा रिलिज गर्ने योजना निर्माणपक्षको छ ।
प्रतिक्रिया