“नेपाल मर्चेन्ट बैंकर्स संघ र एआईबीआई बीच लगानी व्यवसायमा सहकार्य सम्झौता”


काठमाडौं – नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) बीच मंगलबार लगानी व्यवसायसँग सम्बन्धित पारस्परिक सहयोग र सहकार्यको लागि सम्झौता भएको छ।

भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजित एआईबीआईको १३ औं वार्षिक सम्मेलनमा यस सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौतामा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी र एआईबीआईका अध्यक्ष महावीर लुनावतले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार, नेपाल र भारतका मर्चेन्ट बैंकरहरू बीच सीप विकास, व्यावसायिक क्षमता वृद्धि, नैतिक मापदण्डको पालन, व्यावसायिक विकास र नियामक निकायसँगको समन्वयलाई प्रवर्धन गर्ने र सूचना तथा प्रविधिको क्षेत्रमा सहयोग गर्नका लागि सहकार्य गरिने छ। यस सम्झौताले लगानीका नवीनतम प्रविधिको प्रयोगबाट क्षमता वृद्धि गर्दै व्यावसायिक विकास र विस्तारमा महत्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सेबीका अध्यक्ष माधबी पुरी बुच, एआईबीआईका अध्यक्ष महावीर लुनावत, सेबीका पूर्णकालीन सदस्य अश्वनी भाटिया, सेबीका कार्यकारी निर्देशक मनोजकुमार, एनएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिषकुमार चौहान र बीएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुन्दररमण आर लगायतका प्रमुख व्यक्ति उपस्थित थिए। नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजयलाल श्रेष्ठ, उपाध्यक्ष मनिषनारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्त बहादुर पाण्डे, सदस्यहरू लेखनाथ पोख्रेल र सन्दीप कार्की पनि कार्यक्रममा सहभागी थिए।