‘एक्टर र एक्टर–टेक १’को विवाद सुल्झियो, भोलिबाट रिलिज हुने



वुधबारबाट रिलिजमा आउनुपर्ने फिल्म ‘एक्टर–टेक १’ जिल्ला अदालत, काठमाडौंको अन्तरिम आदेशपछि रोकियो ।

यसकारण, यो फिल्म बुधबारबाट रिलिज भएन । अब, फिल्म कहिलेबाट रिलिजमा आउँछ भन्ने धेरैलाई चासो थियो ।

तर, दुबै फिल्मका निर्माताबिच आज सहमती भएको छ । यो सहमतीसँगै यो फिल्म भोलिबाट रिलिजमा आउने भएको छ । केही हलहरुले फिल्मको बुकिङ समेत खुलाइसकेका छन् ।

फिल्म रिलिज हुने भएपछि ‘एक्टर टेक १’को निर्माणपक्षले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्यो । जसमा, निर्देशक राजन भुषाल केही आक्रोशित सुनिए भने नायिका दिव्या रायमाझी भावुक भइन् ।

राजनले फिल्म रिलिजको अघिल्लो दिन यस्तो अवस्था आउँदा आफू अबदेखि फिल्म नै निर्देशन नगर्ने सोचमा पुगेको बताए । तर, आज सबै कुरा सहज भएपछि राहत मिलेको उनको भनाई थियो ।

उनले, फिल्मसँग जोडिएका संघसंस्थाले एउटा विज्ञप्ती पनि निकाल्न आवश्यक नठानेको भन्दै लाजमर्दो व्यवहार देखिएको गुनासो गरे । उनले, चलचित्र निर्देशक समाजको कार्ड नविकरण नगर्ने पनि चेतावनी दिए ।

फिल्मका नायक प्रदीप खड्काले यसपटक त आफूले के भयो भनेर पनि राम्रोसँग मेसो नपाएको तर्क गरे । पहिले पहिले विवाद आउँदा बोल्न पाइएको भन्दै उनले यसपटक त बोल्न पनि नपाएको गुनासो गरे । तर, अब फिल्म रिलिजमा आउन लागेकाले सबैलाई साथ दिन उनको आग्रह थियो ।

फिल्मकी नव–नायिका दिव्या रायमाझीले पहिलो फिल्म मै यस्तो अवस्था फेस गर्नु परेको भन्दै दुख व्यक्त गरिन् । पत्रकार सम्मेलनमा दिव्याका आँखा रसाएका थिए ।

एक मनले त आफूलाई कस्तो ठाउँमा आएछु भन्ने लागेको पनि दिव्याको भनाई थियो ।

थमन कुमार भण्डारीको निर्माणमा तयार भएको यो फिल्मका क्रियटिभ निर्माता मोती कार्की हुन् । फिल्ममा प्रदीप खड्का, राजवल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी लगायतका कलाकारहरुको अभिनय छ ।