हामीले अध्यादेशबाटै एमाले फुटाएको हो, रोइलो गर्नुको तुक छैनः रामकुमारी झाँक्री


काठमाडौं, २० माघ । नेकपा (एकीकृत समाजवादी) कि नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले अध्यादेश ल्याउँदैमा सरकारले खराब गर्यो भन्न नमिल्ने बताएकी छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अध्यादेश ल्याउने व्यवस्था संविधानमै रहेकाले यसलाई गलत ढंगले ब्याख्या गरिन नहुने बताएकी हुन् ।

अध्यादेशको सुविधा संविधानतः सरकारलाई छ । संवैधानिक व्यवस्था नै भएको हिसाबले सरकारले आफ्नो सु्विधा प्रयोग गरेको हो । अब यो सुविधा लिन हुन्थ्यो, हुँदैन थियो, त्यसले के फरक पार्यो भन्ने कुरा चाहीँ हेर्नुपर्छ । अध्यादेश ल्याउँदैमा सरकारले खराब गर्यो भन्ने कुरा होईन । अध्यादेश के प्रयोजनको लागि ल्याइयो भन्ने पनि हो । कि यो सुविधा नै राख्न हुँदैन । अब संसद् चालु भइसकेको छ । अध्यादेशकै आधारमा सरकारको विरोध गरिहाल्न पनि हुँदैन,’– उनले भनिन् ।

सरकारले काम गर्ने सन्दर्भमा सुविधा दिनकै लागि अध्यादेश ल्याइने उनले बताईन् । सबै चिजमा प्रतिपक्षको मोर्चा बनाएर रोइलो गर्नुको आवश्यकता नरहेको बताए । अध्यादेश ल्याएर नेकपा (एमाले) विभाजन गरेको बिर्सन नहुने उनको भनाइ छ । ‘अध्यादेश ल्याउनै हुँदैन भन्ने पनि होईन । हामीले अध्यादेश ल्याएर नेकपा (एमाले) फुटाएको हो । हामीलाई त्यतिबेला अध्यादेश चाहिएको थियो । आफूले जे कुरा गरिन्छ, अरुले त्यही कुरा गर्दा गलत भयो भन्ने कुरा त्यति राम्रो देखिँदैन,’– नेतृ झाँक्रीले भनिन् ।