‘मितज्यू’ निर्माणको घोषणा, प्रदर्शन मिति पनि तय



फिल्म ‘मितज्यू’ निर्माणको घोषणा गरिएको छ । सरस्वती पूजाको अवसर पारेर जनक घर्ती मगरको निर्माणमा तयार हुन लागेको फिल्मको निर्माण घोषणा गरिएको हो । यो फिल्मलाई अनिल वुढा मगरले निर्देशन गर्दैछन् ।

जनकको निर्माण र अनिलको निर्देशनमा तयार भएको फिल्म ‘घरज्वाइँ’ले यो वर्ष बक्स अफिसमा सुखद व्यापार गरेको थियो ।

फिल्मले ५१ दिनसम्म चलेर निर्मातालाई राम्रै मुनाफा समेत दिलाएको थियो । अब, यही टिम मिलेर रोचक कथामा नयाँ फिल्म बनाउन लागेका हुन् ।

सार्वजनिक पेन्टिङ्ग थिम पोस्टरमा फिल्मका दुई पात्रलाई एक सामान बोक्ने भ्यान अगाडि हातको पञ्जा जुधाई रहेको अवस्थामा देखाइएको छ ।

यस्तै, भ्यानको माथि खसी र खसीको टाउकोमा कुखुराको भालेलाई पनि देख्न सकिन्छ । यसले, पनि मितको कथामा यो फिल्म बन्न लागेको वुझ्न सकिन्छ । यो फिल्मलाई वि.सं २०८२ को चैत्र २७ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा समेत निर्माणपक्षले गरेको छ ।

जिएम मुभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मका लागि कलाकार को–को फाइनल गरिएको छ पक्का छैन । महेश राइको लेखन रहेको फिल्मले पनि ‘घरज्वाइँ’ जस्तै दर्शकको साथ पाउने अपेक्षा निर्माणपक्षको छ ।