साहारा चितवन सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध छानबिन समिति गठन


चितवन – साहारा चितवन सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध अदालतमा दर्ता भएको अभियोजनको विषयमा छानबिन समिति गठन गरिएको छ। चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले उक्त प्रकरणमा अनुसन्धान गर्न उक्त समिति गठन गरेको जानकारी दिएको छ।

महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल र महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्यका रूपमा नियुक्त भएका छन्।

यो समितिले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकमको अपचलन कसरी भएको हो भन्ने विषयमा अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउने कार्य गर्नेछ।

यसै बीच, रास्वपा सभापति रवि लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिएपछि, चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई महान्यायाधिवक्ताको कार्यालयले सरुवा गरेको हो। उनलाई उच्च सरकारी वकिलको कार्यालय बुटवलमा तानेर चितवनको सरकारी वकिलको कार्यालयमा उपन्यायाधिवक्ता रवि न्यौपानेलाई सरुवा गरिएको छ।

सरकारी वकिलको कार्यालयले साहारा चितवन सहकारीको वचत रकम अपचलनको मुद्दामा ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो, तर १२ जनालाई मात्र संगठित अपराध र ठगीको मुद्दा चलाइएको छ। अन्यलाई केवल ठगीको मुद्दामा संलग्न गरिएको छ।

गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित तीन व्यक्तिलाई दुबै मुद्दामा अभियुक्त बनाइएको छ, तर रवि लामिछानेलाई भने केवल ठगीको मुद्दामात्रै चलाइएको छ। सरकारी वकिलको कार्यालयका अनुसार, लामिछानेको संलग्नता केवल गोरखा मिडियामा गएको रकमको चेक काट्ने काममात्रै भएको पाइएपछि संगठित अपराधमा आरोप दर्ता गरिएको छैन।

साहारा चितवन सहकारीबाट गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ।