रवि लामिछानेको बयान सकिएसँगै चितवन अदालतमा थुनछेक बहस सुरु”


काठमाडौं – चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ। न्यायाधीश दयाराम ढकालको इजलासमा परेको लामिछानेको मुद्दामा बयान सकेपछि अब थुनछेक बहस सुरु भएको हो।

लामिछानेविरुद्ध चितवनको सहारा सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोग लागेको छ। सरकारी वकिलको तर्फबाट थुनछेक बहस सुरु भएको छ, जसमा जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, उपन्यायाधिवक्ता बुद्धबहादुर थापा, अमृत सुवेदीलगायतले बहस गर्नेछन्।

त्यस्तै, पीडितको तर्फबाट पनि अधिवक्ताहरुले बहसका लागि वकालतनामा दर्ता गराएका छन्। लामिछानेको तर्फबाट भने वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तसहित ६ जनाले बहस गर्ने छन्।

सहकारी ठगी प्रकरणमा लामिछाने यसअघि कास्की जिल्ला अदालतबाट ६५ लाख, काठमाडौं जिल्ला अदालतबाट ६० लाख र रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका छन्। उनीविरुद्ध पर्सामा पनि सहकारी ठगीको मुद्दा दायर गरिएको छ।