नायक राजेश हमाल ८ वर्षपछि फिल्मको पर्दामा फर्किदैछन् । उनले अभिनय गरिरहेको फिल्म ‘नरसिंहाः अवतार’को छायांकन अन्तिम चरणमा छ । यसैबिच, यसको निर्माणपक्षले ४ दिन लगाएर फिल्ममा समावेश ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीतको छायांकन गरेको छ ।
फिल्म ‘दैव संजोग’मा समावेश चर्चित गीतलाई यो फिल्ममा फेरि समावेश गरिएको छ । चैत्र २९ गतेबाट यो फिल्म प्रदर्शनमा आउँदैछ ।
पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर भरेका छन् ।
यो गीतको भिडियोलाई ४ दिन लगाएर खिचिएको छ । जरसिंह पौवामा सेट नै लगाएर हिमाललाई काखमा राख्दै यो गीतको भिडियो खिचिएको हो ।
यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्मका निर्देशक दिवाकर भट्टराइले १५ लाख रुपैयाँ खर्च गरेर गीतको भिडियो तयार पारिएको बताए ।
यो गीतमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिषा भट्टराइले नृत्य गरेका छन् ।
चिसो हावामा र धुलो उडेका कारण पनि छायांकनमा केही कठिनाई भएको कलाकारहरुले बताए । तर, दर्शकले यो गीतको भिडियोलाई रुचाउनेमा उनीहरु विश्वस्त देखिए ।
नायक राजेश हमालले यो गीतले आफूलाई फेरि विगतमा फर्काएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे । गीतको भिडियोमा नायक हमाल र अर्का नायक कटुवाललाई कर्नेलको अवतारमा देख्न पाइनेछ ।
यो फिल्ममा नायक हमाल र खनालले ३२ बर्षपछि सहकार्य गर्दैछन् । यसैले, दुवैजना गीत छायांकनका क्रममा मिडियासँग उत्साहित देखिए ।
गीतको भिडियो सय कोरस र त्यती नै संख्यामा दर्शक राखिएको छ । एक्सन र लभ स्टोरी कथामा निर्माण भएको यो फिल्ममा दर्शकले विविधता देख्न पाउने विश्वास निर्माणपक्षको छ ।
नायक कटुवालले सुरु सुरुमा नायक हमालसँग नाँच्दा केही डर लागेपनि पछि सहज भएको बताए । यो पूर्व मिस नेपाल उषा खड्गीको डेब्यू फिल्म हो । डेब्यू फिल्मलाई लिएर उषा निकै नै विश्वस्त र उत्साहित छिन् ।
फिल्मको कथावस्तु दर्शकका लागि सरप्राइज हुने दाबी निर्देशक भट्टराइको छ ।
प्रतिक्रिया