व्हाट्सएप ठगीको सिकार भएकी रुकुमकी महिलाले गरिन् आत्महत्या


काठमाडौँ- पश्चिम रुकुमकी २५ वर्षीया जमुना रसाइलीको जीवन सामान्य रूपमा चलिरहेको थियो। उनका तीन वर्षीय छोरा थिए भने श्रीमान रोजगारीका लागि भारतमा थिए। तर, अनलाइन ठगीको जालमा परेपछि उनले आत्मघाती निर्णय लिइन्।

एक दिन जमुनालाई अपरिचित व्यक्तिले व्हाट्सएप मार्फत १० १२ लाख रुपैयाँको चिट्ठा परेको भन्दै लालच देखाए। ती व्यक्तिले चिट्ठाको रकम प्राप्त गर्न सरकारलाई ३ लाख कर तिर्नुपर्ने भन्दै जमुनालाई पैसा पठाउन लगाए। यो कुरा कसैलाई नभन्ने वाचा गराएर जमुनाले आफन्तबाट केही रकम संकलन गरिन् र गरगहना बेचेर ८५ हजार एकपटक तथा ४५ हजार अर्को पटक गरी रकम ती व्यक्तिलाई पठाइन्।

तर, पैसा पठाएपछि ती व्यक्तिले जमुनालाई व्हाट्सएप मा ब्लक गरे। त्यसपछि मात्रै जमुनाले आफू ठगिएको थाहा पाइन्। भावुक हुँदै उनले भारतमा रहेका श्रीमानलाई फोन गरिन् र “अब म यो संसारमा रहन्नँ, छोराको राम्रो ख्याल गर्नु” भनेर भनिन्।

उनका श्रीमानले तत्कालै परिवारलाई जानकारी गराए तर जमुना घरबाट हराइसकेकी थिइन्। गाउँलेहरू उनको खोजीमा लागे तर फेला परेनन्। अर्को दिन घाँस काट्न गएका महिलाहरूले जमुनालाई रुखमा झुन्डिएको अवस्थामा भेट्टाए।

व्हाट्सएप लगायत विभिन्न माध्यमबाट ठगी गर्ने गिरोह सक्रिय छन्। तपाईंलाई चिट्ठा पर्यो भन्दै आउने फोन र मेसेजहरू ठगीको माध्यम हुन सक्छन्। सरकारले यस्ता ठगी नियन्त्रण गर्न पहल गर्नुपर्ने माग गरिएको छ।

परिवारको बयानअनुसार प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।