चिसोका कारण निर्देशक तुलसी घिमिरे बिरामी भएपछि फिल्म ‘पहाड’को छायांकन रोकिएको छ । गोरखा दरबार मन्दिरमा केही दिन अगाडि पूजा गर्दै यो फिल्मको छायांकन प्रारम्भ गरिएको थियो ।
तर, छायांकन सुरु भएको एक दिनपछि नै निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएको थियो । हाल उनको चितवनमा उपचार भइरहेको छ ।
घिमिरे अस्वस्थ भएका कारण रोकिएको छायांकन कहिले सुरु हुन्छ पक्का छैन । उनको स्वास्थ्यमा सुधार हुँदै गएकाले चाडै डिस्चार्ज हुने आशा फिल्मको टिमको छ ।
डाक्टरहरुले उनलाई केही समय आराम गर्न सल्लाह दिएका छन् । यसैले, यो फिल्मको छायांकन कुन दिनबाट सुरु हुन्छ भनेर भन्न सकिने अवस्था छैन ।
घिमिरेले युवा विदेश पलायन हुँदा गाउँका पहाडहरु रित्तिएको कथामा यो फिल्म बनाइरहेका थिए । फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, प्रियंका कार्की, पञ्चमी घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया