‘दुखी आत्मा’लाई ‘पीजी सर्टिफिकेट’



फिल्म ‘दुखी आत्मा’लाई चलचित्र जाँचपास समितीले ‘पीजी सर्टिफिकेट’ दिएको छ ।

यो फिल्मको टिजर र ट्रेलर सार्वजनिक भएपछि सेन्सरले के गर्छ, दृश्य काँटछाँट गर्छ कि गर्दैन भन्ने धेरैलाई कौतुहलता थियो ।

फिल्मका निर्देशक दीपेन्द्र लामाका अनुसार, यो फिल्मको कुनै पनि दृश्यमा सेन्सर काँटछाँट गरेन । तर, सेन्सरका सदस्यहरुबाट फिल्मको कथावस्तु र प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिएको निर्माणपक्षले बताएको छ ।

अब, यो फिल्म हेर्नका लागि १६ बर्ष तलका बालबालिकाले बाबु–आमाको साथ लिनुपर्नेछ । निर्देशक लामाले भने–‘हाम्रो फिल्मको कथावस्तु नयाँ छ । बजारमा विभिन्न अड्कलबाजी गरिएतापनि यो फ्यामिली फिल्म हो । यसैले, हरेक वर्गका दर्शकले ढुक्कसँग फिल्म हेर्न सक्नुहुनेछ ।’

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतको अभिनय छ । हिमाल कडरिया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सुदिप ढकाल हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन छ ।

फागुनको २ गते प्रेम दिवसको अवसर पारेर यो फिल्म रिलिजमा आउँदैछ ।