१ करोड २३ लाख ठगी आरोपमा तिर्सना मगर पक्राउ, मानव तस्करीमा फसाइएको दाबी


काठमाडौँ- बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बैजनाथ गाउँपालिका–५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई आइतबार १ करोड २३ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ गरेको छ।

प्रहरीका अनुसार विभिन्न व्यक्तिलाई वर्किङ भिसामा जापान पठाइदिने प्रलोभनमा पारेर प्रति व्यक्ति १४ देखि १५ लाखसम्म असुलेर ठगी गरिएको आरोप छ। पीडितहरूले वैदेशिक रोजगार विभाग, काठमाडौंमा किटानी जाहेरी दिएपछि मगरविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

तर, प्रारम्भिक अनुसन्धानका आधारमा डिएसपी धर्मराज भण्डारीले तिर्सना मगर मानव तस्करहरूको जालमा परेको हुनसक्ने बताएका छन्। उनका अनुसार तिर्सनाले कसैलाई जापान पठाउने दाबी गरेकी थिइनन् र कुनै व्यक्तिबाट प्रत्यक्ष रूपमा पैसा लिएको प्रमाण पनि छैन।

उहाँ गाउँघरमा बस्ने एक आम सर्वसाधारण महिला हुन्। मानव तस्करहरूले आफूलाई जोगाउन तिर्सनाको बैंक खाता प्रयोग गरी पैसा संकलन गरेका देखिन्छ , डिएसपी भण्डारीले भने।

प्रहरी अनुसन्धानले वर्किङ भिसा प्रकरणमा संलग्न मुख्य व्यक्तिहरू अरू नै रहेको देखिएको छ। तिर्सनाले आफैं पनि पक्राउ परेपछि मात्र आफू फसिएको थाहा पाएको प्रहरी अधिकारीहरूले बताएका छन्। हाल उनलाई काठमाडौं पठाइएको छ, जहाँ थप अनुसन्धान भइरहेको छ।