एलिनाले विष्णुलाई लेखिन् भावुक पत्र



गायिका एलिना चौहान र उनका पूर्व पति विष्णु सापकोटाबिच पारापाचुके भएको छ । केही दिन अगाडि मात्र एलिनाले विष्णुसँग डिभोर्सका लागि जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेकी थिइन् । आज उनीहरुबिच कानुनी रुपमा नै डिभोर्स भएपछि एलिनाले विष्णुको नाममा भावुक पत्र लेखेकी छिन् ।

उनले लेखेकी छिन्–‘प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरु अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् । हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ । तर, फेरा, चुरा, सिन्दु, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ ।’

एलिनाले भावुक स्टाटसमा अगाडि लेख्छिन्–‘भावानात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ । यो रहरले होइन । जुन वाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ ।’

उनले आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्ने बाटो खुलेको पनि लेखेकी छिन् । एलिना लेख्छिन्–‘पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ती तिम्रै प्रगती र उन्नतीका लागि छोडेको छु । तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु । माघ २९ ।’

एलिना र विष्णुको यही वर्षको वैशाख ५ गते बिहे भएको थियो । तर, उनीहरुबिचको सम्बन्धमा दरार आएको थियो । यसपछि, एलिना डिभोर्सका लागि अदालत पुगेकी थिइन् ।