काठमाडौँ- नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन। रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन। गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो। त्यसको एक हप्तापछि अर्को फोन आयो, जसले उनको संसार नै अँध्यारो बनाइदियो— २५ वर्षीया छोरी तिलमायाको हत्या भएको खबर।
छोरीको मृत्युको खबर सुनेदेखि धनमाया बेचैन छिन्। श्रीमान्सँग सम्बन्धविच्छेद भएपछि छ वर्षीया छोरीलाई आमाको जिम्मा लगाएर तिलमाया मलेसिया उडेकी थिइन्। तर, अब न उनी फर्किने भइन्, न त छोरीको लाश नै। १० महिना बितिसक्दा पनि न शव आएको छ, न त राहत रकम नै। लामो समयदेखि अनेक प्रयास गर्दा पनि छोरीको शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा र नाबालिग नातिनी झन् ठूलो समस्यामा परेका छन्। छोरीको शव ल्याउनका लागि धनमाया विगत १० महिनादेखि वडा कार्यालय र नगरपालिका धाइरहेकी छन्।
शव झिकाउन आवश्यक सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर मलेसिया पठाए पनि सुनुवाइ नभएको धनमायाको गुनासो छ। ूशव आउला भन्ने आशमा १० महिना बितिसक्यो, तर न शव देख्न पाइयो, न राहत रकम नै हात पर्यो, उनले दुखेसो पोखिन्। म यो नातिनी लिएर अझै कहाँ–कहाँ धाउनुपर्ने हो, केही थाहा छैन।
तिलमायाको हत्या भएको खबरलगत्तै सम्पूर्ण कागजात मिलाएर सुरक्षित आप्रवासन केन्द्र सामी परियोजना मार्फत शव झिकाउनका लागि आग्रह गरिएको थियो। तर, अहिलेसम्म कुनै सुनुवाइ नभएको तिलमायाकी दिदी नीलमाया सार्की बताउँछिन्। समयमै शव वा कागजात नआउँदा राज्यबाट प्राप्त हुने राहत नै पाइन्छ कि पाइँदैन भन्ने चिन्ता थपिएको छ, उनले भनिन्। जे हुने भइसक्यो, अब केही राहत रकम पाए कम्तीमा छोरीको लालनपालनमा सहयोग हुने थियो।
सुरक्षित आप्रवासन केन्द्रकी परामर्शदाता रञ्जना लम्सालका अनुसार तिलमायाको मृत्युको खबर आउनासाथ नाता प्रमाणित गरी आवश्यक कागजपत्र मलेसिया पठाइएको थियो। तर, अझै शव नेपाल ल्याउन सकिएको छैन। ूमलेसियन दूतावासका अनुसार अनुसन्धान नसकुन्जेल शव नेपाल पठाउँदा मुद्दाको किनारा लाग्न समस्या हुन्छ भनेर शव नपठाएको जानकारी दिएका छन्।ू उनका अनुसार मुद्दा किनारा लाग्न ढिलो हुँदा नाबालिग छोरीले पाउने राहत रकम गुम्ला कि भन्ने चिन्ता थपिएको छ।
वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायता पाउन निवेदन पेस गरिसक्नुपर्छ। तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले शव आउन ढिला भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए। ूशव परिचालनमा नै लामो समय लागेको दूतावासले जनाएको छ,ू उनले भने, शव पहिचान भएपछि नेपाल ल्याउन पहल गर्दा पनि शव अस्पतालमै रहेको र अस्पतालले मृत्यु प्रमाणपत्र प्रमाणित नगरेको जानकारी पाएका छौँ।
सुरक्षित आप्रवासन केन्द्रको तथ्यांकअनुसार नवलपरासी ९बर्दघाट सुस्तापूर्व० बाट वैदेशिक रोजगारीमा गएका १८ जनाको चालु आर्थिक वर्षको माघ मसान्तसम्म मृत्यु भइसकेको छ। तीमध्ये तीन जनाको शव अझै नेपाल ल्याउन बाँकी छ।
धनमायाका लागि छोरीको मृत शरीर अन्तिमपटक हेर्न पाउनु नै सबैभन्दा ठूलो राहत हुनेछ। तर, यो १० महिनाको दौडधुपपछि पनि त्यो सम्भव हुने हो या होइन भन्ने अझै अनिश्चित छ।














प्रतिक्रिया