सर्वोच्च अदालतको निर्णय; ९ जना भ्रष्टाचारी ठहर, विशेष अदालतको फैसला उल्टियो


काठमाडौँ- सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिने भ्रष्टाचारको आरोपमा विशेष अदालतको ०७३ सालको फैसला उल्ट्याउँदै ९ जनालाई भ्रष्टाचारी ठहर गरेको छ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अब्दुल अजीम मुसलमानको संयुक्त इजलासले नेकपा एमालेका नेता निर्मल कुईंकेल, कोशी प्रदेश सभा सचिव गोपाल पराजुली लगायत ९ जनालाई भ्रष्टाचारी ठहर गरेको हो।

निर्मल कुईंकेललाई ६ वर्षको कारावास र ८३ लाख ४१ हजार ६६६ रुपैयाँ बिगो बापतको जरिवाना तोकिएको छ। उनले पशुपति विकास कोषको सदस्य सचिवको रूपमा कार्य गर्दै बालुवाखानी सञ्चालनका लागि स्वीकृति दिएका थिए। त्यस्तै, कोषका सदस्य सुशील नहाटा र अन्य ६ जनालाई पनि कारावास र जरिवानाको सजाय तोकिएको छ।

विशेष अदालतले २०७३ सालमा ठेकेदार मिठ्ठाराम दाहाल र बच्चुराम दाहाललाई दोषी ठहर गर्दै अन्य आरोपितलाई सफाइ दिएको थियो, तर सर्वोच्च अदालतको निर्णयपछि यो फैसला उल्ट्याइयो।

यो मुद्दा २०७१ साल माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको थियो, जसले पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव र अन्य पदाधिकारीहरूको भ्रष्टाचारको मुद्दा छानबिन गरेको थियो।