अनेरास्ववियुको विरोध; प्रहरीले अस्कल क्याम्पसका उपाध्यक्षलाई धम्क्याउँदै कुटपिट गरेको आरोप


काठमाडौँ- नेकपा एमालेनिकट अनेरास्ववियुले अस्कल क्याम्पस मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष प्रकाश वयकलाई राति मुद्दा हाल्ने धम्की दिँदै प्रहरीले कुटपिट गरेको घटनामा ध्यानाकर्षण गरेको छ।

अध्यक्ष समिक बडालले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि प्रकाशलाई प्रहरीको प्रतिनिधि भन्दै फोन गरेर सीएसआईटी (CSIT) फर्म भर्न बोलाएर राति ७ बजेतिर उठाइएको थियो। उनलाई टोखा लगेर विभिन्न आरोपमा मुद्दा हाल्ने धम्की दिँदै नाक, मुख, आँखा सुन्निने गरी कुटपिट गरिएको र वीर अस्पतालमा उपचार गराएर राति २ बजे आफन्तलाई बुझाइयो।

अनेरास्ववियुले प्रहरीको गैरकानूनी धरपकड र ज्यादतीको विरोध गर्दै घटनाको छानबिन र दोषीमाथि कारवाहीको माग गरेको छ। संगठनले अन्यथा आन्दोलनमा उत्रिन चेतावनी दिएको छ।