ठमेलको कुटपिट घटनामा संलग्न अनेरास्ववियुका नेता कमल जोशी पक्राउ


प्रहरी कुटपिटको घटनामा संलग्न रहेको आरोपमा सत्तारूढ दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता कमल जोशीलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरले बिहीबार साँझ ४ बजे आसपास नयाँ बानेश्वरबाट नियन्त्रणमा लिइएको जिल्ला परिसर प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए। 

माघ २४ गते ठमेलमा दरबारमार्ग वृत्तको क्विक रेस्पोन्स टिम (क्युआरटी) मा कार्यरत प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्टमाथि कुटपिट भएको थियो।

घटनामा संलग्नमध्ये ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई प्रहरीले माघ २७ गते नै पक्राउ गरिसकेको छ। तर, जोशीमाथि सीसीटीभी फुटेजमा देखिएको बावजुद कारबाही प्रक्रिया अघि नबढाइएको भन्दै आलोचना भएको थियो।

घटनाको सीसीटीभी फुटेजमा जोशी देखिए पनि प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याएको थिएन। बरु उनले प्रहरीलाई कुटपिटबाट जोगाउन खोजेको भन्दै उन्मुक्ति दिन खोजिएको आरोप लागेको थियो। तर, सत्ताको आडमा उनलाई कारबाही नगरेको भन्दै आलोचना चुलिएपछि प्रहरीले फेरि पक्राउ पुर्जी जारी गर्न जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो।