काठमाडौं, १ फागुन ।पोखरामा आयोजना हुने भनिएको गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु, नगराउनु भनी सम्मानित उच्च अदालत पोखराले पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरी १५ दिन भित्र लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ।
उच्च अदालत पोखराले ‘विराट कोटीहोम ज्ञान महायज्ञ’ नरोक्न पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्दको इजलासले कानून बमोजिमबाहेक कोटीहोम महायज्ञमा कुनै बाधा अवरोध उत्पन्न नगर्न/नगराउन आदेश जारी गरेको हो । पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले ध्वनी प्रदुर्षण हुनेभन्दै त्यहाँ महायज्ञ लगाउन रोक लगाएको थियो । फेवा किनार नेपाल ट्रस्टको जग्गामा ३ महिनासम्म हुने सो महायज्ञका लागि जग्गा उपलब्ध नगराउन भन्दै महानगरले पत्रसमेत काटिसकेको थियो । महानगरको उक्त कार्यविरुद्धमा मानव सेवा फाउण्डेशन रिट निवेदनमार्फत अदालत गएको थियो ।


विपक्षी महानगरपालिकाद्वारा उक्त कोटीहोम महायज्ञ सञ्चालनका लागि अनुमति नदिइएको भनी नेपाल ट्रष्टको कार्यालयलाई मिति २०८१ । १०।२५ मा लेखेको पत्रको जवाफमा नेपाल ट्रष्टको स्वामित्वमा रहेको पोखरास्थित करिब ४८ रोपनी जग्गा नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ५ र नेपाल ट्रष्टको जग्गा छोटो अवधिको लागि भाडामा दिने कार्यविधि, २०७६ वमोजिम भाडामा दिन सकिने व्यवस्था भए बमोजिम मानव सेवा फाउण्डेशनलाई तोकिए वमोजिमको भाड़ा लिई कार्यक्रम गर्न सहमति प्रदान गरिएको साथै, निवेदकले राजस्व रकमसमेत ट्रष्टको कार्यालयको खातामा जम्मा गरिसकेको र सो रकम फिर्ता गरी कुनै पनि कार्यक्रम रद्द गर्ने कानूनी आधार नभएको भन्ने बेहोराको ट्रष्टको कार्यालयद्वारा विपक्षी महानगरपालिकालाई सम्प्रेषित मिति २०८१।१०।२८ को पत्रबाट देखिएको अवस्थाको अतिरिक्त उक्त “कोटीहोम विराट ज्ञान “महायज्ञ” सञ्चालन गर्दा कुनै किसिमको हानी नोक्सानी नपुग्ने र त्यस्तो हानी नोक्सानी पुग्न गएमा क्षतिपूर्ति ब्यहोर्न निवेदक तयार रहेको भन्ने प्रतिवद्वता समेत निवेदकका तर्फबाट बहस गर्नुहुने बरिष्ठ अधिवक्तामार्फत् इजलासमा अभिव्यक्त भएको समेतका आधारमा सुविधा सन्तुलनको सिद्धान्त (The Principle of Balance of Convinience) समेतका दृष्टिले प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकद्वारा आयोजना गर्न लागिएको “विराट कोटीहोम ज्ञान महायज्ञ सञ्चालनमा कानून बमोजिम बाहेक कुनै बाधा अवरोध उत्पन्न नगर्नु नगराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’- आदेशमा भनिएको छ ।
प्रतिक्रिया