प्रचण्ड र रवि लामिछानेले माधव नेपाल र बाबुरामलाई उन्मुक्ति दिने प्रपञ्चसहित फाइल मिलाएको महेश बस्नेतको आरोप


नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले ललिता निवास प्रकरणमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालिन गृहमन्त्री रवि लामिछानेले माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिनेगरि फाइल मिलाएको आरोप लगाएका छन् । तर, अदालतले जतिसुकै हाइप्रोफाइल भएपनि गल्ती गरेकोलाई नछोड्ने सन्देश दिएको बस्नेतको टिप्पणी छ ।

फेशबुकमा बस्नेतले लेखेका छन्,‘ललिता निवास प्रकरण प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछाने भएको बेला बडो हल्लाखल्लासहित फाइल खोलिएको भनेको थियो ।तर मुख्य दोषी माधवकुमार नेपाल बाबुराम भट्टराई र लिलामणि पौडेललाई उन्मुक्ति दिने प्रपञ्च गरी फाइल मिलाइएको थियो। सम्मानित सर्वोच्च अदालतको यो आदेशले जतिसुकै हाइ प्रोफाइल भएपनि गल्ती गरेकोलाई न्यायालयले छोड्दैन भन्ने सन्देश दिएको छ।’

यस्तो छ बस्नेतको स्टाटस :

ललिता निवासको जग्गा हिनामिना प्रकरण बालुवाटार काण्ड भनेर चर्चित रहेको यो काण्ड जसमा तीन सय भन्दा बढी सरकारी जमिन घोटाला भएको थियो । सर्वोच्च अदालतको न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले पूर्वप्रधानमन्त्रीद्वय वाबुराम भट्टराई र माधवकुमार नेपाल तथा पूर्वमुख्यसचिव लीलामणि पौडेलविरुद्ध मुद्दा चलाउनुपर्ने मागसहित दायर भएको रिट पूर्ण इजलासमा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएछ ।

ललिता निवासको जग्गा हिनामिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय १० जनालाई विगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाएर २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुख्य निर्णयाधिकारी पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई तथा तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई उन्मुक्ति दिएर
निर्णय कार्यान्वयन गर्नेलाई मात्रै प्रतिवादी बनाइएको तत्कालीन प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाल मुख्य सचिव लिलामणि पौडेल जसको हस्ताक्षरका कारण निर्णय भयो र सो निर्णयका कारण ललिता निवासको जग्गा हिनामिना भयो, उसैलाई मुद्दा नचलाउनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने तर्कसहित उनीहरूवाई पनि मुद्दा चलाउनुपर्ने माग सहित रिट परेको थियो ।

ललिता निवास प्रकरण प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछाने भएको बेला बडो हल्लाखल्लासहित फाइल खोलिएको भनेको थियो ।तर मुख्य दोषी माधवकुमार नेपाल बाबुराम भट्टराई र लिलामणि पौडेललाई उन्मुक्ति दिने प्रपञ्च गरी फाइल मिलाइएको थियो। सम्मानित सर्वोच्च अदालतको यो आदेशले जतिसुकै हाइ प्रोफाइल भएपनि गल्ती गरेकोलाई न्यायालयले छोड्दैन भन्ने सन्देश दिएको छ।