‘दुखी आत्मा’को सेन्सर कतारमा पास, युएइमा फेल किन ?



फिल्म ‘दुखी आत्मा’ले नेपालका दर्शकहरुको राम्रो प्रतिक्रिया पाइरहेको छ । नेपालमा शुक्रबारदेखि रिलिजमा आएको फिल्मले दर्शकको साथ पाइरहेको निर्माणपक्षले बताएको छ । यसैबिच, यो फिल्म नेपाल बाहिरका विभिन्न देशमा पनि लागिरहेको छ ।

तर, फिल्म यूएइ र बहराइनमा भने रिलिज हुन सकेन । यो फिल्म युएइको सेन्सरमा पास हुन सकेन । युएइमा दुई पटक सेन्सर गर्दा पनि पास नभएकाले रिलिज हुन नसकेको निर्देशक तथा लेखक दीपेन्द्र लामाले जानकारी दिए ।

पहिलो पटक फिल्मको सेन्सर फेल भएपछि केही दृश्य काँटछाँट गर्न लगाइएको थियो । तर, दोस्रो पटक काँटछाँट गरेर सेन्सरमा लैजाँदा पनि फेल भएको निर्माणपक्षले बताएको छ । मिडिया कन्टेन्टको सिमारेखा भित्र नपरेका कारण फिल्म युएइमा पास हुन नसकेको हो । युएइमा ‘युएइ मिडिया काउन्सिलले’ फिल्म हेर्ने नियम छ ।

युएइमा फिल्म पास नभएपछि बहराइनमा पनि रिलिज नहुने पक्का भएको छ । युएइकै सेन्सरको निर्णय बहराइनमा पनि लागू हुने भएका कारण यस्तो भएको हो ।

तर, यो फिल्म कतारको सेन्सरबाट भने पास भएको छ । विना काँटछाँट फिल्म कतारको सेन्सरबाट पास भएको हो । कतारमा शुक्रबारबाट नै फिल्म लागिरहेको छ ।

दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई लगायतका कलाकारहरुले अभिनय गरेको यो फिल्मले ‘इडी’ रोग लागेका पुरुषहरुको कथा भन्छ । हिमाल कडरिया निर्माता रहेको फिल्ममा सुदिप ढकाल कार्यकारी निर्माता छन् ।