शो नपाएपछि क्यूएफएक्ससँग सलोनको आक्रोश



नायक सलोन बस्नेत आफ्नो फिल्मलाई क्यूएफएक्सका केही हलमा शोज नमिलेको भन्दै आक्रोशित बनेका छन् । उनले, मिडियासँग हलप्रति आक्रोश पोखे । क्यूएफएक्सले आफूहरुलाई सुरुवातदेखि नै पेलेको भन्दै उनी आक्रोशित सुनिए ।

उनले भने–‘दर्शकले मलाई साथ दिनुभएको छ । तर, शोजमा हामीलाई हेपिएको छ । एकदमै कम शोजबाट लड्दा लड्दै मैले केही शोज पाएको छु । मैले पनि टन्नै पैसा भएर फिल्म बनाएको होइन नी । म ५ बर्षको उमेरदेखि यो क्षेत्रमा काम गर्न थालेको हुँ । चलचित्र विकास बोर्डमा गएर कलेक्शन हेरौं, रंगीको कलेक्शन राम्रो छैन भनेर भन्नुहुन्छ भने म फिल्म हटाउन तयार छु । तर, क्यूएफएक्समा मात्र शोज किन पाउँदैन ? एउटा हटाइएको सिनेमाले भोलिका शो पाउँछ, उत्रिसकेको फिल्मले शो पाउँछ । तर, म यत्रो वर्षदेखि यही क्षेत्रमा छु । मैले जानेको नै यही छ भनेर मैले काम गर्दा मलाई साथ दिनुपर्नेमा किन पछाडि धकेल्न खोज्नुभएको हो ?

सलोन यसो भन्दै गर्दा भावुक पनि भए । उनले फेरि भने–‘हामीले हरेक पटक फिल्म बनाएर शो नै पाउँदैन भने युट्युबमा रिलिज गर्नका लागि फिल्म बनाए भैहाल्यो नी । मलाई त ठाउँ नै दिनु हुँदैन । युट्युबका लागि फिल्म बनाउने भए किन हल चाहियो र ?’

सलोनले ललितपुरको लाबिम मलमा आफूलाई शोज नै नदिइएको गुनासो गरे । सलोनको फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेका हुन् ।

यता, सलोनका पिता शोभित बस्नेतले वितरक चम्चे परेको आरोप लगाएका छन् । यस्तै, फिल्मका निर्देशक सुरेश न्यौपानेले पनि हलले शोज नदिएको भन्दै आक्रोश पोखेका छन् । उनले, आफूहरुले जानेकै फिल्म क्षेत्र भएको भन्दै निमोठ्न खोजिएको गुनासो गरे । प्रदर्शकहरुको मोजा धुनु परे पनि आफू धुन तयार रहेको तर शो त देउ नै भन्दै गर्दा उनी भावुक सुनिएका छन् ।

शुक्रबारदेखि यो फिल्म हलमा लागेको छ । फिल्ममा सलोनको साथमा नम्रता श्रेष्ठ, आयुषी ढकाल लगयातका कलाकारहरुको अभिनय छ ।