काठमाडौं महानगरले ज्यादती गरेको भन्दै कवाड व्यवसायीहरुले गुहारे मानव अधिकार आयोग


काठमाडौं महानगरपालिकाले स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्न पाउने नागरिकको हकमाथि हस्तक्षेप गरेको भन्दै कवाड व्यवसायी समाज नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकार्षण गराएको छ । आज (आइतबार) कवाड व्यवसायी संघर्ष समितिका अध्यक्ष राम केवल गुप्तासहितको टोलीले आयोगका अध्यक्ष तपबहादुर मगरलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा महानगरले कवाडहरुमा डोजर चलाउने, महानगर प्रहरीले व्यवसायीलाई कुटपीट, गाली गलौज तथा अभद्र व्यवहार गर्ने गरेको उल्लेख छ । महानगर प्रहरीले कुटपिट गर्दा व्यवसायी र कवाड संकलकहरु अंगभंग हुनुपरेको, केही मानिसहरु अझै उपचाररत रहेको र महानगरले गरिखाने आधार नै भत्काइदिएको भन्दै उनीहरुले आयोग गुहारेका छन् ।

महानगरको अराजक गतिविधिमाथि रोक लगाई आफूहरुको पेशा व्यवसाय गर्ने पाउने अधिकारको संरक्षण गरिदिन उनीहरुले आयोगसमक्ष आग्रह गरेका छन् ।