काठमाडौं । गत शनिबार पोखरामा भएको कार्यक्रममा सहभागी हुँदा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आज डिस्चार्ज हुने भएका छन् ।
अस्पतालका निर्देशक किरण किशोर नकर्मीका अनुसार पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य शनिवार भर्ना भएका थिए । उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि पौडेललाई आजै डिस्चार्जको निर्णय गरिएको नकर्मीको भनाइ छ ।
‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन’, अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भएको छ ।’
यता यसअघि देखिनै उच्च रक्तचापको समस्यामा रहेका मेयर आचार्य भने केही दिन अस्पतालमा नै रहने भएका छन् ।
‘मेयर धनराज आचार्यज्यूको पहिले देखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकोले केहि दिन थप उपचार हुने जानकारी गराईन्छ । साथै, मेयरज्यूलाई हुने भेटघाट पनि संक्रमणको जोखिम कम गर्न हाललाई बन्द गरिएको छ’ कीर्तिपुर अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
शनिबार पोखरामा ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रममा बेलुन पड्कँदा उनीहरू घाइते भएका हुन् ।
प्रतिक्रिया