जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज, मेयर आचार्यलाई अस्पतालमा थप उपचार जारी


काठमाडौं – पोखरा भ्रमण वर्ष उद्घाटनको क्रममा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार, मन्त्री पौडेलको घाउ अब निको हुँदै गएको छ र उनका फोक्सोमा कुनै जटिलता नभएकाले उनलाई डिस्चार्ज गर्ने निर्णय गरिएको छ।

अर्थमन्त्री पौडेलको सचिवालयले अस्पतालले डिस्चार्जको निर्णय गरिसकेको जानकारी दिएको भए तापनि, उनका घर फर्किने समय भने अझै निश्चित गरिएको छैन।

अर्कोतर्फ, मेयर आचार्यको स्वास्थ्यमा सुधार आएको छैन। उनलाई उच्च रक्तचापको समस्या रहेकोले हृदयरोग विशेषज्ञसँग परामर्श गरेर केही दिन अस्पतालमा थप उपचार गरिने छ।

शनिबार पोखरा भ्रमण वर्ष उद्घाटनको दौरान हाइड्रोजन ग्यास भरिएका बेलुनका झुप्पामा आगोको झिल्को लागेर विष्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए। उनीहरूलाई सोही दिन हेलिकोप्टरमार्फत काठमाडौंको बर्न अस्पतालमा ल्याई उपचार शुरु गरिएको थियो।